कुल ५५ लाख ३३ हजार डिम्याट खातामध्ये १७ लाख निष्क्रिय

पुँजीबजारको पहुँच व्यापाक बढेकोमा १७ लाख डिम्याट खाता निष्क्रिय भएका छन्। सीडीएस एन्ड क्लियरिङका अनुसार कुल ५५ लाख ३३ हजार डिम्याट खाता रहेकोमा १७ लाख डिम्याट खाता निष्क्रीय भएका छन्।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै सीडीएस एन्ड क्लियरिङका सहायक प्रबन्धक योगराज जोशीले १७ लाख खाताबाट आवेदन समेत नदिएको बताए। ‘पछिल्लो समय डिम्याट खाता खोल्नेको संख्या बढेको छ । तर, १७ लाख डिम्याट खाताबाट कुनै पनि प्रकारको सेयर कारोबार भएको छैन,’ उनले भने, ‘यो एउटा चिन्ताको बिषय रहेको छ।’
सीडीएस एन्ड क्लियरिङका अधिकारीहरुका अनुसार २०७६ सालसम्म ३ लाख हारहारीमा डिम्याट खाता रहेका थिए, जुन अत्यन्त न्यून थियो । कोरोना महामारीपछि सेयर बजारमा देखिएको बढ्दो ट्रेन्ड सँगै डिम्याट खाताको सुंख्या ५५ लाख भन्दा माथि पुगेको छ भने पछिल्लो समय डिम्याट खाता खोल्नेको संख्या पनि कम हुँदै गएको छ ।
३१ लाख भन्दा बढी पुरुष र २३ लाखको हाराहारीमा महिलाहरुले डिम्याट खाता खोलेका छन् भने डिम्याट खाता खोल्नेमा १८ बर्ष देखि ३० बर्ष उमेर समूह अग्रिम स्थानमा रहेको सीडीएस एन्ड क्लियरिङको तथ्यांकमा उल्लेख छ।