२०८१ जेष्ठ ३ - Thu May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ३
Thu May, 2024

प्राधिकरणद्वारा तीन महिनामा साढे ९ अर्बको बिजुली भारतमा बिक्री

काठमाडौं, १० कार्तिक । नेपाल विद्युत् प्राधिकरणले तीन महिनामा भारतीय बजारमा बिजुली बिक्री गरेर साढे ९ अर्ब बढी रकम भित्र्याएको छ । आर्थिक वर्ष २०८०–८१ को तीन महिनामा (साउन, भदौ, असोज) प्राधिकरणले ९ अर्ब ६४ करोड ५३ लाख रुपैयाँको बिजुली भारतीय बजारमा बिक्री गरेको हो ।

यो गत आर्थिक वर्षको तीन महिनाको तुलनामा ३ अर्ब ४५ करोडले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा ६ अर्ब २० करोडको हाराहारीको बिजुली बिक्री भएको थियो । प्राधिकरणले गत जेठदेखि असोजसम्म ११ अर्ब ८० करोड २८ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ ।

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत भारततर्फ निर्यात गर्दै आएको छ । प्राधिकरणले आइएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र केही अघिबाट मध्यकालीन विद्युत सम्झौताबमोजिम करिब ११० मेगावाट विद्युत भारतीय कम्पनी एनटीपीसी विद्युत व्यापार निगम लि (एनभीभीएन)लाई बिक्री गरिरहेको छ ।

एनभीभीएनले उक्त विद्युत हरियाणा राज्यमा बिक्री गरिरहेको छ । भारतको केन्द्रीय विद्युत प्राधिकरणले प्रतिस्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिइएकै ५२२ मेगावाट मध्येबाट पहिलो चरणमा करिब ४४ मेगावाट विद्युत रियल टाइम मार्केटमा बिक्रीका लागि पनि अनुमति दिएको छ ।

नेपाल विद्युत प्राधिकरणले प्रतिस्पर्धी बजारमा ५२२ मेगावाट र एनभीभीएनलाई ११० मेगावाट गरी ६३२ मेगावाट विद्युत निर्यातका लागि स्वीकृति पाएको छ । यसमध्ये ५६२ मेगावाट विद्युत ढल्केवर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट र ७० मेगावाट महेन्द्रनगर–टनकपुर १३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ ।

प्राधिकरणले गत जेठदेखि असोजसम्ममा ११ अर्ब ८० करोड २८ लाख रुपैयाँको विद्युत भारततर्फ निर्यात गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत यस वर्ष गत २८ जेठबाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो ।

प्राधिकरणले चालु आर्थिक वर्षको साउन, भदौ र असोज ३ महिनामा ९ अर्ब ६४ करोड ५४ लाख रुपैयाँको विद्युत भारतर्फ निर्यात गरेको छ ।तीन महिनामा भारततर्फ निर्यात गरिएको विद्युतको औसत दर प्रतियुनिट १० रुपैयाँ २७ पैसा छ । जेठ र असारमा भारततर्फ निर्यात गरिएको विद्युतको औसत दर प्रतियुनिट ९ रुपैयाँ ६७ पैसा थियो ।

नेपालले आर्थिक वर्ष २०७६–७७ देखि दुई वटा आयोजनामार्फत उत्पादित ३९ मेगावाट बिजुली भारत बेच्न सुरु गरेको थियो । त्यसयता निरन्तरको प्राधिकरणको पहलपछि हाल ६३२ मेगावाट बिजुली बेचिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पछिल्लो भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १० हजार मेगावाट बिजुली किन्ने घोषणा गरेका थिए ।

उक्त घोषणा नेपाल र भारतको मन्त्रीपरिषद् बैठकले स्वीकृत गरिसकेको छ । दुवैतर्फका मन्त्रिपरिषद्ले गरेको घोषणासँगै काठमाडौंमा दुईपक्षीय सम्झौताको तयारी समेत भइरहेको छ ।

अहिले प्राधिकरणले निजी जलविद्युत् प्रवर्द्धकसँग वर्षायाममा प्रतियुनिट ४ रुपैयाँ ८० पैसामा विद्युत् किन्ने गरेको छ । प्राधिकरणले ०७८ कात्तिकदेखि भारतमा बिजुली निर्यात गर्दै आएको छ । पहिलो पटक दुईवटा जलविद्युत् आयोजनाबाट उत्पादित ३९ मेगावाट विद्युत् बिक्री सुरु गरेको थियो । ०७९ जेठमा थप ६ वटा आयोजनाको ३६४ मेगावाट बिजुली भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्रीको अनुमति पाएको थियो । ०७९ कात्तिकमा थप दुई गरी कुल १० आयोजना स्वीकृत भइसकेका छन् । पछिल्ला प्रतिस्पर्धी दुई र मध्यकालीन दुई गरी १४ जलविद्युत् आयोजनाको बिजुली प्रतिस्पर्धी बजारमा बेच्न पाइनेछ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com