२०८१ बैशाख २५ - Tue May, 2024 -

Biz Suchana

२०८१ बैशाख २५
Tue May, 2024

विद्युत् व्यापारका लागि निजी क्षेत्र तयार भइसकेकाले सरकारले बाटो खोलिदिनुपर्छ : अध्यक्ष आचार्य

काठमाडौं, ३२ जेठ । निजी क्षेत्र विद्युत् व्यापारका लागि तयार भइसकेकाले सरकारले बाटो खोलिदिनुपर्ने स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इपान)का अध्यक्ष कृष्णप्रसाद आचार्यले बताएका छन् ।

इपानको आजदेखि यहाँ सुरु भएको २१औँ साधारणसभाको उद्घाटनसत्रमा उनले ‘नेपालको पानी, समृद्धिको खानी’ भन्ने नारासहित नेपालको ऊर्जा क्षेत्रमा निजी क्षेत्रको धेरै ठूलो लगानी भइसकेको पनि बताएका छन् ।

अध्यक्ष आचार्यले जुनसुकै मुलुकको आर्थिक समृद्धिको आधार ऊर्जा नै रहेको र सबै देशले प्राप्त स्रोतलाई अधिकतम उपयोग गरिरहेकाले नेपालले पनि आफ्नो स्रोतको उच्चतम उपयोग गर्नुपर्ने भनाइ छ ।

“पछिल्लो समयमा कार्बन उत्सर्जन घटाउने विश्वव्यापी चासोको विषय छ । कार्बन घटाउने क्षमता भएको मुलुक नेपाल हो । नेपालमा क्लिन इनर्जीको धेरै सम्भावना छ । हाइड्रो, सौर्य सबै ऊर्जाको सम्भावना छ”, अध्यक्ष आचार्यले भने ।

नेपालको विद्युत् जडित क्षमता करिब तीन हजार मेगावाट पुग्दा, पाँच हजार मेगावाट क्षमताका आयोजना निर्माणाधीन, ११ हजार मेगावाट क्षमताका आयोजना विद्युत् खरिद सम्झौता (पिपीएं) को पर्खाइमा र अध्ययनको चरणमासमेत रहेका आयोजना जोड्दा २५ हजार मेगावाटका आयोजना विभिन्न चरणमा रहेको अध्यक्ष आचार्यले तथ्याङ्क सुनाए ।

खपत बढाउनु भने चुनौती रहेको जानकारी दिँदै उनले औद्योगिक, सिँचाइ, विद्युतीय चुल्हो र विद्युतीय गाडीमा खपत बढाउनुपर्ने बताएका छन् । विद्युत् उत्पादनमा निजी क्षेत्रको प्रवेशबिना उत्पादन सफल नभएको भन्दै खपत बढाउन र निर्यात गर्नका लागि पनि अब निजी क्षेत्रलाई व्यापार गर्न दिनुपर्ने अध्यक्ष आचार्यको भनाइ छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को हालै सम्पन्न भारत भ्रमण ऊर्जा केन्द्रित भएको उल्लेख गर्दै उनले भने । “विगतका भ्रमण राजनीतिक केन्द्रित हुन्थे । यसपटक आर्थिक मुद्दामा केन्द्ररित भएको र त्यसमा पनि अझ ऊर्जा केन्द्रित नै भयो । यो ऊर्जा उद्यमीका लागि खुसीको कुरा हो ।”

भारतमा १० हजार मेगावाट विद्युत् निर्यातको समझदारी हुनु आफैमा हत्वपूर्ण रहेको उल्लेख गर्दै उनले भने । “यतिबेला यो सफल होला र ? भन्ने पनि प्रश्न उठेको पाइन्छ । हामी सकारात्मक छौँ । हिजो ४० मेगावाट निर्यात हुँदा पनि जम्मा ४० भनेका थिए । आज चार सय मेगावाट गइरहेको छ । त्यसैले १० हजार मेगावाट विद्युत् पनि निर्यात हुनेछ ।”

उत्पादनमा निजी क्षेत्र नआउँदासम्म विद्युत् उत्पादन बढेन, त्यसैगरी व्यापारमा पनि निजी क्षेत्र नआएसम्म व्यापारको दायरा बढ्न नसक्ने उनको भनाइ छ । निजी क्षेत्र विद्युत् व्यापार गर्न योग्य रहेको स्पष्ट पार्दै उनले निर्यात गर्न पाइयो भनेर खुसी भएर मात्र नपुग्ने र देशभित्र खपत गर्ने वातावरण बनाउनु पनि उत्तिकै आवश्यक भएको बताएका छन् ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com