२०८१ बैशाख २९ - Sat May, 2024 -

Biz Suchana

२०८१ बैशाख २९
Sat May, 2024

विभिन्न स्थानबाट लागूऔषधसहित ६ जना पक्राउ

काठमाडाै‌ं, २१ जेठ ।  देशका विभिन्न स्थानबाट लागुऔषधसहित ६ जना पक्राउ परेका छन् । बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय मिलिग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा खजुरा गाउँपालिका–४ बस्ने १९ वर्षीय आषिश बिक र कोहलपुर नगरपालिका–१ कौसिलानगर बस्ने १९ वर्षीय पुष्कर थापा मगर रहेका छन् । ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालगंजतर्फ आउँदै गरेको भे.१२ प ८६१० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

रूपन्देहीको बुटवल उपमहानगरपालिका–११ धुर्वनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ५० मिलिग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बुटवल उपमहानगरपालिका–२ पाखापानी बस्ने ३९ वर्षीय बिनोद बहादुर हुनचुङ् मगर र सोही उपमहानगरपालिका–४ ट्राफिक चोक बस्ने २५ वर्षीय निसान गुरुङ रहेका छन् । विशेष सूचनाको आधारमा प्रहरी बिट जितगढीकिल्लाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका–३ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर ४ सय ९० मिलिग्रामसहित गोदावरी नगरपालिका–५ बस्ने १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगर र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको संयुक्त टोलीले उनलाई लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

कैलालीकै टिकापुर नगरपालिका–९ खक्रौलाबाट अवैध लागूऔषध ब्राउनसुगर ९ सय ४० मिलिग्रामसहित जानकी गाउँपालिका–९ पुर्वी खैरीफाँटा बस्ने २५ वर्षीय सागर कडारालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com