सुन्धाराको एक होटलमा ओखलढुंगाका डा.वसन्त कार्की मृत फेला

काठमाडौ, १९ जेठ । सुन्धाराको एक होटलमा ओखलढुंगाका डा.वसन्त कार्की मृत अवस्थामा फेला परेका छन् । बुधबार साँझ ६ बजे प्रहरीले डा.कार्कीलाई सुन्धारास्थित एक होटलमा उनी बसिरहेकै कोठाभित्र मृत अवस्थामा फेला पारेको हो । बुधवार साँझ उनलाई होटलको कोठामा मृत अवस्थामा फेला पारेको महानगरीय प्रहरी वृत्त जनसेवाका प्रमुख डिएसपी भेषराज रिजाले जानकारी दिएका छन् ।
बुधबार साँझ ४–५ बजेसम्म बाहिर ननिस्केपछि होटलवालाले ढोका ढकढकाउदा नखुलेपछि प्रहरीलाई खबर गरेको थियो। ढोकाको काँचको छिडीबाट हेर्दा सुतिरहेको अवस्थामा देखेपछि ढोका फोडेर भित्र पस्दा कार्की मृत अवस्थामा फेला परेका थिए । उनको साथमा केही विषका बट्टाहरु सुतेको कोठाबाट बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीले उनलाई मुखबाट फिज निस्केको अवस्थामा फेला पारेको थियो । अहिले घटनाबारे प्रहरीले थप अनुसन्धान जारी राखेको छ ।