स्वरोजगार लघुवित्तले चैत ११ गते लाभांश स्वीकृत गर्ने

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत ११ गते १४औं वार्षिक साधारण सभा नेपाल पज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा विहान ११ः३० बजे गर्ने भएको छ। फागुन १७ गतेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो।
सो साधारण सभाले गत आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई समेत अन्तिम स्वीकृति दिने संस्थाले जनाएको छ। कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. ५१ करोड ४० लाख ९९ हजारको आधारमा २२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत १ दशमलव १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक शेयरधनीहरूको तर्फबाट तीन जना सञ्चालक निर्वाचनको कार्यक्रम समेत सभाका लागि तय भएको छ । अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जान आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन ३० गतेदेखि चैत ११ गतेसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा फागुन २९ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।