प्रभु बैंकको सीईओमा पुनःअशोक शेरचन नियुक्त

प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अशोक शेरचन पुनः नियुक्त भएका छन् । बिहीबार बसेको सञ्चालक समितिको बैठकले आगामी चार वर्षका लागि शेरचनलाई सीईओमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि दुई कार्यकाल बैंकको सीईओ बनिसकेका शेरचन पुनः तेस्रो पटक नियुक्त भएका हुन्।
सन् १९९५ सालमा नेपाल क्रेडिट एण्ड कमर्स (एनसिसि) बैंकबाट बैंकिङ करिअर सुरु गरेका शेरचनसँग २७ वर्षको बैंकिङ अनुभव छ । उनी सन् २००७ मा प्रभु फाइनान्सको सीईओ बनेका थिए। तत्कालिन प्रभु फाइनान्स र प्रभु विकास बैंक मर्ज भएपछि बैंकको सीईओको जिम्मेवारी शेरचनले नै पाएका थिए ।
जेनिथ फाइनान्स, गौरीशङ्कर डेभलपमेन्ट बैंक र किस्ट बैंकलाई प्राप्तिपश्चात् पनि शेरचन नै बैंकको सीईओ भएका थिए। प्रभु विकास बैंकको सीईओ हुँदै प्रभु बैंकको सीईओ भएका हुन्। आगामी माघ १८ देखि उनले तेस्रो कार्यकाल सुरु गर्नेछन्।