२०८१ जेष्ठ ८ - Tue May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ८
Tue May, 2024

एनसेलको सेयर बिक्रीमा लेखा समितिका नौ प्रश्न, आजियटाले दिएन जवाफ

काठमाडौं । प्रतिनिधि सभा, सार्वजनिक लेखा समितिले निजी कम्पनीको दूरसञ्चार सेवा प्रदायक संस्था एनसेलको ८० प्रतिशत सेयर बिक्रीप्रति आशंका व्यक्त गरेको छ । समितिले एनसेलको सेयर बिक्रीमा कर छलि भएको आशंका गर्दै आइतबार आन्तरिक राजस्व विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र पठाएको छ । एनसेलमा रहेको आजियटा समूहको सेयर खरिद बिक्री वा स्वामित्व हस्तान्तरण भएको सम्बन्धमा समितिले प्रश्न गरेको हो ।

समितिले आफ्ना प्रारम्भिक जिज्ञासा भन्दै नौ बुँदामा नियामक निकायसँग जबाफ माग गरेको छ । एनसेलको शेयर खरिद बिक्री सम्बन्धी आधिकारिकता, शेयर खरिद बिक्री गर्दा नेपालको कानुनी व्यवस्था परिपाल भए नभएको भन्दै समितिले पत्रमार्फत प्रश्न गरेको हो ।आजियाटाले दोहोरो कर, नियमनमा अनिश्चितता र नेपालमा वैदेशिक लगानीलाई संरक्षण गर्ने वातावरण नभएको पनि समितिले जिकिर गर्दै सोधेको छ ।

‘एनसेलको सेयर बिक्रीले नेपाललाई पर्न सक्ने प्रतिकूल प्रभाव के हुन् ?  त्यहाँको धारणा के हो ?’ सेयर धनीको सेयर खरिद बिक्री वा नामसारी गर्नुपूर्व नेपाल दूरसञ्चार प्राधिकरणको अनुमति वा स्वीकृति प्राप्त गर्नुपर्ने कानुनी प्रावधान पूरा नगरेको समितिको ठहर छ ।

गत हप्ता मात्र एनसेलमा रहेको आफ्नो स्वामित्वको शेयर सस्तैमा सल्टाएर मलेसियाको टेलिकम कम्पनी आजिआटा नेपालबाट बाहिरिएको थियो । जिआटाले आफ्नो स्वामित्वको ८० प्रतिशत शेयर सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट युके लिमिटेडलाई बेचेर नेपालबाट बाहिरिएको थियो ।

आजिआटा कम्पनीले सन् २०१६ मा १ अर्ब ३६ करोड अमेरिकी डलरमा खरिद गरेको एनसेलको सेयर ५ करोड अमेरिकी डलरमा बेचेको हो । नेपालको आर्थिक अवस्था दिन प्रतिदिन चुनौतीपूर्ण बन्दै गएकोले नेपालबाट बाहिरिने निर्णय गरेको आजिआटाको भनाइ थियो । तर अर्थविद्हरुले आजियाटाको यस कदमलाइ पूँजिगत लाभकर छल्ने कपट भएको बताएका छन् । यसअघि नेपाल दूरसञ्चार प्राधिकरणले पनि सेयर खरिदबिक्री सम्बन्धी जानकारी माग गरेको थियो। जसको जबाफ आजियटाले अझै दिएको छैन।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com