२०८१ जेष्ठ २ - Wed May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ २
Wed May, 2024

आजदेखि चिरख्वा हाइड्रोपावरको आइपीओ बिक्री खुला

काठमाडौ, २३ असोज । चिरख्वा हाइड्रोपावर लिमिटेडको आजदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला भएको छ । यसअघि यस कम्पनीले १०% अर्थात् ८० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ । २% अर्थात् १६ हजार कित्ता सामूहिक लगानी कोष र ५% अर्थात् ४० हजार कित्ता कर्मचारीचारीलाई बाँडफाँट गरिसकेको छ । 

साथै, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई ४ लाख कित्ता सेयर निष्कासन गरेको थियो । स्थानीयले २ लाख ४ हजार ७ सय कित्ता सेयरको लागि मात्रै आवेदन दिएकाले बाँकी रहेको १ लाख ९५ हजार ३ सय कित्ता पनि थप गरेर कम्पनीले ८ लाख ५९ हजार ३ सय कित्ता सेयर सर्वसाधारणका लागि सेयर निष्कासनमा ल्याएको हो । यसमा असोज २६ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा कात्तिक ३ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ ।

रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई ‘इक्रा एनपी डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत स्तरको जोखिम रहेको संकेत गर्छ । इक्रा नेपालले २०७९ साल फागुन १ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८० साल फागुन १ गतेसम्म बाहल रहनेछ ।

यस जलविद्युत उत्पादन केन्द्र भोजपुर जिल्लाको षडानन्द नगरपालिका वडा नं १,२ र ३ मा रहेको छ । कम्पनीले भोजपुर जिल्लास्थित चिरख्वा खेलाको पानी प्रयोग गरी ४.७ मेगावाट जडित क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

चिरख्वा हाइड्रोपावरको अधिकृत पुँजी ४० करोड रुपैयाँ रहेको छ । यस्तै, जारी पुँजी पनि ४० करोड रुपैयाँ नै रहेको छ । आइपीओ निष्कासनपछि चुक्ता पुँजी जारी पुँजी बराबर नै अर्थात ४० करोड रुपैयाँ पुग्नेछ ।

यसमध्ये संस्थापक सेयरधनीको हिस्सा ७०%, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको हिस्सा १०% र सर्वसाधारण सेयरधनी, आयोजनामा कार्यरत कर्मचारी तथा सामूहिक लगानी कोषको हिस्सा गरेर २०% रहनेछ । कम्पनीले आर्थिक वर्ष २०८१-८२ सम्म पुँजी बढाउने कुनै योजना बनाएको छैन ।

यता, चालु आर्थिक वर्षको अन्त्यसम्म प्रतिसेयर आम्दानी ११ रुपैयाँ ४२ पैसा र प्रतिसेयर नेटवर्थ १०६ रुपैयाँ ८० पैसा कायम हुने प्रक्षेपण गरेको छ । आर्थिक वर्ष २०८१–८२ सम्ममा प्रतिसेयर आम्दानी १३ रुपैयाँ ११ पैसा हुने प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ ११ पैसा हुने प्रक्षेपण छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com