२०८१ जेष्ठ ४ - Fri May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ४
Fri May, 2024

विदेशी विनिमय सञ्चिति १४ खर्ब ८० अर्ब ८७ करोड रुपै‌याँ : राष्ट्र बैंक

काठमाडौं, २५ असार । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ११औँ महिनामा कुल विदेशी विनिमय सञ्चिति १४ खर्ब ८० अर्ब ८७ करोड रुपैयाँ रहेको जनाएको छ । सोमबार जेठ मसान्तसम्मको विवरण सार्वजनिक गरेको राष्ट्र बैंकले कुल विदेशी विनिमय सञ्चिति११ अर्ब ३० करोड अमेरिकी डलरमा रहेको जनाएको हो ।

गत असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २१.८ प्रतिशतले वृद्धि भई गत जेठ मसान्तमा १४ खर्ब ८० अर्ब ८७ करोड रुपैयाँ पुगेको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा गत जेठ मसान्तमा १८.५ प्रतिशतले वृद्धि भई ११ अर्ब ३० करोड कायम भएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असारमसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा गत जेठ मसान्तमा २५.१ प्रतिशतले वृद्धि भई १३ खर्ब २१ अर्ब २५ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा गत जेठ मसान्तमा ०।१ प्रतिशतले वृद्धि भई १ खर्ब ५९ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । गत जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.९ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७९÷८० को एघार महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.२ महिनाको वस्तु आयात र ९.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको राष्ट्र बैंकले आफ्नो विवरणमा उल्लेख गरेको छ ।

गत जेठ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरुक्रमशः २७.५ प्रतिशत, ८०.३ प्रतिशत र २५.० प्रतिशत रहेका छन् । गत असार मसान्तमा यी अनुपातहरु क्रमशः २४.६ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका थिए ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com