२०८१ जेष्ठ २ - Wed May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ २
Wed May, 2024

देशको विभिन्न स्थानबाट लागुऔषधसहित १० जना पक्राउ

काठमाडौं, २० असार । देशको विभिन्न स्थानबाट लागुऔषधसहित १० जना पक्राउ परेका छन् । काठमाडौंको तारकेश्वर नगरपालिका–३ तिनपिप्ले चेक पोष्टबाट अवैध लागुऔषध गाँजा करिब ४ सय ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा नुवाकोट घर भई काठमाडौं म्हेपी बस्ने २३ वर्षीय बुद्धिमान तामाङ र २३ वर्षीय साम्देन सेरचन रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले बा.प्र.०२–०२९ प ४०४९ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

कञ्चनपुरको भिमदत्त नगरपालिका–१० काठेपुलबाट अवैध लागूऔषध खैरो हेरोइन ३४ मिलिग्राम र चरेस १ ग्राम ३२ मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भिमदत्त नगरपालिका–१० काठेपुल बस्ने २६ वर्षीय किसन नाथ र सोही नगरपालिका–४ गोबरिया बस्ने २२ वर्षीया ज्ञानु बिष्ट रहेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

बाराको निजगढ नगरपालिका–११ उनासिकिलो पुलबाट अवैध लागूऔषध गाँजा करिब ६ किलो ५ सय ग्रामसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनुषा ढल्केवर नगरपालिका–७ केमलीपुर बस्ने ३० वर्षीया राम पुकारी साह, पर्वत कुश्मा नगरपालिका–८ बस्ने ४५ वर्षीय कमल दमाई र तनहुँ व्यास नगरपालिका–११ बस्ने २१ वर्षीय अमित लम्साल रहेका छन् ।

ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले पोखराबाट जनकपुरतर्फ आउँदै गरेको ग.१ ख ९९२८ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो । पर्साको पोखरिया नगरपालिका–६ सिर्सियाबाट अवैध लागुऔषध गाँजा करिब ६ किलोसहित कालिकामाई गाउँपालिका–५ बस्ने ३२ वर्षीय रन्जित कुमार राउत समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीले सिर्सियाबाट मानिपुरतर्फ जाँदै गरेको बीआर २२ ए डव्लु ७६०१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

पर्साकै वीरगंज महानगरपालिका–१६ रजतजयन्ति चोकबाट अवैध लागऔषध खैरो हेराईन करिब १ ग्रामसहित मकवानपुर हेटौंडा उपमहानगरपालिका–८ कमाने बस्ने २९ वर्षीय राजु राईलाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज र प्रहरी चौकी ईनार्वाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

a

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com