२०८१ बैशाख ३१ - Mon May, 2024 -

Biz Suchana

२०८१ बैशाख ३१
Mon May, 2024

अन्तरक्षेत्रीय व्यापार र लगानी प्रवर्द्धधन गर्न प्रभावकारी पूर्वाधार निर्माण गर्न आवश्यक : अध्यक्ष ढकाल

काठमाडौं, ३० जेठ । बहुपक्षीय प्राविधिक एवं आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) राष्ट्रहरूमा अन्तरक्षेत्रीय व्यापार र लगानी प्रवर्द्धधन गर्न प्रभावकारी पूर्वाधार निर्माण गर्न आवश्यक रहेको नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन् ।

आज भारतको कलकत्तामा ‘बिमस्टेक बिजनेस कन्क्लेभ’ अन्तर्राष्ट्रिय व्यापार मञ्चको विशेष सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले क्षेत्रीय व्यापार र लगानी प्रवर्द्धन गर्न राम्रा र प्रभावकारी सडक, जलमार्ग, रेलमार्गजस्ता पूर्वाधार निर्माणको आवश्यकता रहेको बताएको महासङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसका साथै, हवाई तथा डिजिटल कनेक्टिभिटी बढाउन, पूर्वाधार सञ्जाल सुधार गर्न र नयाँ पूर्वाधारहरू निर्माण गर्न बिमस्टेक सदस्य देशहरूले संयुक्त रूपमा लगानी गर्न आवश्यक रहेको पनि उनले बताए ।

सहज ढुवानीका लागि सडक तथा बन्दरगाहजस्ता भौतिक पूर्वाधारको बृद्धि गर्न आवश्यक रहेको बताउँदै उनले क्षेत्रीय मूल्य शृङ्खलाको विकासमा सहयोगका लागि पूर्वाधारको विकास र स्तरोन्नतिका लागि संयुक्त प्रयास गर्न सकिने बताएका छन् । अध्यक्ष ढकालले भने, “ऊर्जासँग सम्बन्धित पूर्वाधारको विकास र ऊर्जा व्यापारसहित क्रसबोर्डर ऊर्जा सहयोग प्रवर्द्धनले क्षेत्रीय मूल्य शृङ्खलाहरूमा बढिमात्रामा ऊर्जा आवश्यक पर्ने उद्योगहरूको विकासलाई सहयोग पुग्न सक्छ ।

उदाहरणका लागि, नेपाल–बङ्गलादेश र भारतले नेपालको जलविद्युत् बङ्गलादेशसम्म निर्यात गर्न जलविद्युत् प्रसारण लाइनमा काम गरिरहेका छन् ।” उनले नेपालमा उत्पादित बिजुली भारत हुँदै बङ्गलादेशसम्म पुग्ने र यसलाई बिमस्टेकका अन्य सदस्य राष्ट्र र त्यसभन्दा बाहिर पनि विस्तार गर्न सकिने धारणा राखेका छन् । कनेक्टिभिटी पूर्वाधारका अतिरिक्त, बिमस्टेक देशहरूले क्षेत्रीय व्यापार र लगानीलाई सहज बनाउन व्यापारमा लाग्ने विभिन्न गैर–भन्सार अवरोधहरू हटाउन र घटाउनु आवश्यक रहेकोमा अध्यक्ष ढकालको जोड दिएका छन् ।

बिमस्टेक राष्ट्रहरूले क्षेत्रीय मूल्य शृङ्खलाहरूको लागि अनुकूल वातावरण सिर्जना गर्न आफ्नो व्यापार र लगानी नीतिहरू सहज र सरल बनाइ भन्सार प्रक्रिया, आवश्यक नीति नियम सरल बनाउँदै लगानी सहजीकरणका उपायहरू प्रवर्द्धन गर्न सकिने उनले बताएका छन् । “यस क्षेत्रको स्वतन्त्र व्यापार व्यवस्थाले सदस्य राष्ट्रहरूबीचको द्विपक्षीय र बहुपक्षीय व्यापार बढाउन सहज बनाउन सक्छ ।

नेपालले आफ्नो निर्यातमा लाग्ने कर हटाउने वा घटाएकोमा फाइदा लिन सक्छ, जसले गर्दा व्यापारको मात्रा बढ्छ र निर्यातमा विविधीकरण हुन्छ”, अध्यक्ष ढकालले भने । उनले क्षेत्रीय कनेक्टिभिटी र व्यापार सम्झौताले प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) आकर्षित गर्न पनि मद्दत गर्ने बताएको सो विज्ञप्तिमा उल्लेख छ ।

“बिमस्टेक राष्ट्रहरूबीचको राम्रो कनेक्टिभिटी र व्यापार व्यवस्थाले एफडीआईलाई आकर्षित गर्न मद्दत गर्नेछ । बजार पहुँच सुधार गर्न तथा व्यापार अवरोधहरू कम गर्न सकेमा विदेशी कम्पनीहरूलाई अर्थतन्त्रका विभिन्न क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्नेछ, जसले बिमस्टेक देशहरूमा आर्थिक वृद्धि र रोजगारी सिर्जना गर्नेछ”, उनले भने। उनले बिमस्टेकमा अन्तरक्षेत्रीय व्यापार र लगानीलाई प्रवर्द्धन गर्न बिमस्टेक बिजनेस फोरम गठन गर्न सकिने प्रस्ताव गरेका थिए ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com