हेटौंडा सिमेन्ट उद्योगको उत्पादन आजदेखि बन्द

सरकारी स्वामित्वमा सञ्चालनमा रहेको हेटौंडा सिमेन्ट उद्योगको उत्पादन आजदेखि बन्द हुने भएको छ। सिमेन्ट उत्पादनका लागि आगो बाल्ने मेसिन (भट्टी)मा प्राविधिक समस्या आएपछि आजदेखि सो उद्योगको उत्पादन बन्द भएको हो ।
उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णका अनुसार सो मेसिनको मर्मतको प्रक्रिया सुरु भएको र आगामी एक हप्तामा मर्मत भई पुनःसञ्चालनमा आउने र उद्योगको मेसिन तथा उपकरण धेरै पुरानो भएकाले बिग्रिने र प्राविधिक समस्या आउने गरेको उनको भनाइ छ ।
विगतमा उद्योगका लागि चाहिने कोइलाको समस्या थियो तर हाल कोइलाको समस्या नरहेको बताउँदै उहाँले बोलपत्र आह्वानमार्फत बाह्य मुलुकबाट कोइला आयात भइरहेको जानकारी दिए।
सो उद्योगमा अहिले दैनिक एक सय १० टन कोइला खपत भइरहेको छ । साथै हेटौँडा सिमेन्ट उद्योगमा गोदाममा रहेको सिमेन्टको प्याकिङ गर्ने तथा बिक्रीवितरण गर्ने काम भइरहको उद्योग व्यवस्थापनले जनाएको छ । अहिले उद्योगबाट दैनिक करिब १४ हजार बोरा सिमेन्ट उत्पादन भइरहेको छ ।
उद्योगका लागि पर्याप्त मात्रामा चुनढुङ्गाको मौज्दात रहेको बताइएको छ । नेपाल सरकारद्वारा २०३२ सालमा स्थापना भएको सो उद्योगले २०४३ सालदेखि व्यावसायिकरुपमा सिमेन्टको उत्पादन सुरु गरेको थियो । हाल त्यहाँ करिब तीन सय जनशक्ति रहेका छन् ।