इन्डियन आयलसँगको संयुक्त लगानीमा नेपालमा लुब्रिकेन्ट प्लान्ट स्थापना गर्दै गोल्छा ग्रुप

काठमाडौं, १९ जेठ । इन्डियन आयलको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी इन्डियन आयल माउरिसस लिमिटेडसँग गोल्छा ग्रुपअन्तर्गतको हंसराज हुलास चन्द एन्ड कम्पनीले संयुक्त लगानी गरी नेपालमा सर्भो लुब्रिकेन्टको स्थानीय उत्पादनका लागि अत्याधुनिक ल्युब ब्लेन्डिङ प्लान्ट स्थापना गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा लुब्रिकेन्टको नेपालमा उत्पादन गर्ने प्लान्ट लगाउने सहमति भएको हो । उक्त ल्युब ब्लेन्डिङ प्लान्ट २०२४ को अन्त्यसम्ममा तयार हुने अपेक्षा गरिएको छ । यसका लागि दुवै कम्पनीले ५०–५० प्रतिशत संयुक्त लगानी गर्ने सम्झौता भएको छ । यस संयुक्त लगानीको पहिलो चरण अन्तर्गत आधिकारिक पुँजी लगानी लगभग ६० करोड बराबर हुनेछ ।
आरम्भिक उद्योग स्थापना मात्र नभई यस संयुक्त लगानीले नेपालको बढ्दो अर्थतन्त्रको विकासका आवश्यकताहरू पूरा गर्न भविष्यमा विस्तार, रणनीतिक साझेदारी र उत्पादन लाइनहरूको विविधीकरणको परिकल्पना पनि गरेको छ ।
यो साझेदारी क्षेत्रीय आर्थिक वृद्धिलाई बढावा दिन, आत्मनिर्भरता प्रवर्द्धन गर्न र लुब्रिकेन्ट उद्योगमा प्राविधिक विकासलाई अगाडि बढाउन समर्पित रहेको जनाएको छ । ‘मेड इन नेपाल’को परिकल्पनालाई साकार पार्न र लुब्रिकेन्ट उद्योगमा प्रविधिको विकास गर्न यस ल्युब ब्लेन्डिङ प्लान्टको स्थापना महत्त्वपूर्ण कोसेढुङ्गा मानिएको छ । गोल्छा ग्रुपले बजाज मोटरसाइकल र सामसङ टेलिभिजनको नेपालमा एसेम्बल सुरु गरिसकेको छ ।