२०८१ बैशाख ३० - Sun May, 2024 -

Biz Suchana

२०८१ बैशाख ३०
Sun May, 2024

प्रधानमन्त्री र राष्ट्रपतिले दिए विजयादशमीको शुभकामना, राष्ट्रिय एकता सबैको साझा दायित्व

काठमाडौ‌, ४ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विजयादशमीको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि एवं निरन्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

आज फूलपातीका दिन शुभकामना सन्देश जारी गर्दै उनले नेपाली विशिष्टता र मौलिकताको सम्वर्धन एवं विकास गरेर ज्ञानविज्ञान, सभ्यता र संस्कृतिको क्षेत्रमा नयाँ पहल लिन सक्ने भन्दै यसको जगेर्ना गर्दै राष्ट्रिय एकता र सद्भावलाई सुदृढ गर्नु सबैको साझा दायित्व भएको उल्लेख गरेका छन् ।विविधतासहितको एकतामा आधारित हाम्रो समाज र संस्कृति संसारकै निम्ति अनुकरणीय र प्रेरणादायी छ । यसको जगेर्ना गर्दै बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक विशेषतामा आधारित देश, समाज र संस्कृतिलाई थप समुन्नत तुल्याई राष्ट्रिय एकता र सद्भावलाई सुदृढ गर्नु हामी सबैको साझा दायित्व हो ।

मौलिक पर्वहरूभित्र रहेका सकारात्मक र मानवीय जीवन मूल्यका संस्कार र प्रवृत्तिको संरक्षण गर्दै त्यसभित्र रहेका रूढीवाद, अन्धविश्वासलाई समयानुकूल परिवर्तन गर्न प्रतिबद्ध रहेको पनि बताए ।

लामो संघर्ष र बलिदानपछि प्राप्त उपलब्धिहरूको रक्षा, लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र जनताका अपेक्षाहरू पूरा गर्नुपर्ने ठूलो चुनौती भएको भन्दै देशलाई समृद्धितर्फ लैजान सकारात्मक र सिर्जनात्मक सोचको विकास हुन जरुरी भएको बताए ।

सुशासन र सामाजिक न्यायको प्रत्याभूतिसहित समृद्धिको दिशामा देशलाई अघि बढाउन एवं जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सरकार क्रियाशील रहेको भन्दै सरकारको यो प्रयासमा सम्पूर्ण जनताको ऐक्यवद्धता महत्वपूर्ण भएको बताए ।

त्यस्तै राष्ट्रपति रामचन्द्र पौडेलले दशैं पर्वको शुभकामना दिँदै सामाजिक सद्भाव, एकता र मेलमिलापको अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन्। नेपालीहरुको महान पर्व दशैंको शुभकामना दिँदै शनिबार जारी वक्तव्यमा राष्ट्रपतिले यो पर्वले विकृति, विसंगति अन्त्य गर्दै सामाजिक सद्भाव, एकता, मेलमिलाप र भ्रातृत्वको अभिवृद्धि गर्न सवैलाई प्रेरित गरोस् भनेका छन्।

पारिवारिक जमघट एवम् पुनर्मिलन भई खुसीयाली र हार्दिकता साटासाट गरी मनाउने प्रचलन रही आएको यो पर्व सत्यको विजय र आसुरी चरित्रको पराजय, दुराचारमाथि सदाचारको जीत, आपसी सद्भाव, भ्रातृत्व र पुनर्मिलनको प्रतीक भएको राष्ट्रपतिले चर्चा गरेका छन्।

यो पर्वले विकृति, विसंगति अन्त्य गर्दै सामाजिक सद्भाव, एकता, मेलमिलाप र भ्रातृत्वको अभिवृद्धि गर्न हामी सवैलाई प्रेरित गर्ने छ भन्ने आफ्नो विश्वास रहेको बताउँदै उनले यस पर्वले सबै नेपालीहरूलाई आ–आफ्नो क्षेत्रबाट न्याय र समानतासहितको आर्थिक समृद्धि प्राप्त गर्ने सामर्थ्य प्रदान गरोस् भनेका छन्।

राष्ट्रपतिले भनेका छन्, ‘हाम्रो मुलुकमा परम्परागतरुपमा हर्षोल्लासपूर्वक मनाउने गरिएका यस्ता चाडपर्वहरूले भौगोलिक, साँस्कृतिक र भाषिक विविधताबीच रहेको हाम्रो मौलिकतालाई थप सुदृढ गर्नुका साथै साँस्कृतिक एकता र पहिचानलाई अक्षुण राख्न पनि थप योगदान गरिरहेका छन्। बडा दसैं पर्वको संरक्षण एवं सम्बर्द्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न सहयोग पुग्न सक्दछ भन्ने मलाई लाग्दछ।’

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com