२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Biz Suchana

२०८१ बैशाख १७
Mon Apr, 2024

अन्तर्राष्ट्रिय मिडियामा ‘गोर्खा वारियर’ को चर्चा बढ्दो

काठमाडौँ, १२ भदौ । नेपाली फिल्म इतिहासमै पहिलोपटक हलिउड प्रिमियर हुँदैछ । गोर्खालीको वीरताको गाथा समेटिएको ‘गोर्खा वारियर’ को प्रिमियर बेलायतको प्रतिष्ठित आइम्याक्स सिनेवर्ल्डमा आउँदो भदौ २४ अर्थात् १० सेप्टेम्बरमा हुँदैछ ।

फिल्मका निर्माता तथा निर्देशक मिलन चाम्सले तयारी अन्तिम चर्चामा पुगेको जानकारी दिए । ‘हामीले गर्नुपर्ने तयारीमा कुनै कमि गरेका छैनौ । बेलायतमा गोर्खालीलाई बुझेका धेरै व्यक्ति दर्शक बन्दै हुनुहुन्छ । यो नेपाली फिल्मसँगै वीर गोर्खालीको वीरतालाई देखाउने एउटा अवसर पनि हो’, निर्देशक चाम्सले भने ।

बेलायती प्रधानमन्त्री ऋषि सुनकले समेत नेपाली फिल्म ‘गोर्खा वारियर’लाई पत्र लेख्दै सफलताको शुभकामना दिएका छन् । प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रिटको तर्फबाट १७ अगस्टमा सांस्कृतिक मामिलामन्त्री डेनिम गोलिङलाई सम्बोधन गर्दै प्रधानमन्त्री सुनकले उक्त पत्र लेखेका हुन् ।

गत जुलाई २० मा निर्माता र निर्देशक मिलन चाम्सले सांस्कृतिक मामिलामन्त्री गोलिङमार्फत प्रधानमन्त्रीलाई प्रिमियर समारोहमा उपस्थित हुन निम्तो दिँदै पत्र लेखेका थिए । उक्त पत्रको जवाफमा प्रधानमन्त्री सुनकले आफू कार्यव्यस्तताको कारण प्रिमियर समारोहमा उपस्थित हुन नसक्ने जवाफ समेत दिएका थिए ।

‘बहादुर गोर्खा सैनिकबारे वीरता, त्याग र समर्पणबारे बनेको यो फिल्मबारे थाहा पाउँदा म हर्षित छु । निम्तोका लागि हार्दिक धन्यवाद । दुर्भाग्यवश, कार्यव्यस्तताको कारण म प्रिमियर समारोहमा उपस्थित हुन असमर्थ छु । यद्यपि, प्रिमियर र फिल्म सफलताको शुभकामना दिन चाहन्छु । पत्रको लागि धन्यवाद’, प्रधानमन्त्री सुनकले लेखेका छन् ।

यतिमात्र नभई गोर्खालीको विषय र हलिउड प्रिमियर हुन् कारणले पनि अन्तर्राष्ट्रिय मिडियामा यसको चर्चा वढेको छ । ‘गोर्खालीको कथालाई पहिलोपटक फिल्ममार्फत देखाउदै छौं । हाम्रो वीरतासँग हामी भन्दा विदेशी जानकार छन् । त्यसैले पनि हुन् सक्छ, यो विषय चलचित्रमा आउँदै छ भन्ने थाहा पाएर चर्चा गरिरहेका छन्,’ निर्देशक चाम्सले भने,‘बेलायतका गोर्खाली सेनासँगजोडिएका अधिकाँस दर्शक बन्दैछन् । उनीहरुले गोर्खालीको बारेमा मात्र नभई नेपाली फिल्मको बारेमा समेत चर्चा गर्नेछन् ।’

उनले फिल्मकर्मी नहुँदै देखेको सपनालाई मूर्तरूप दिन लागेको बताए । ‘म फिल्मकर्मी नबन्दै त्यहाँ डुलेको समयमा एक फोटोग्राफर भेटेको थिए । प्रिमियरमा फोटो खिच्नकै लागि उनी आफ्नो स्थान सुरक्षित गर्न त्यहाँ एक दिन अगाडी नै थिए । त्यहिँ समयमा मैले नेपाली फिल्मको प्रिमियर गर्छु र नेपाली कलाकारलाई रेड कार्पेटमा हिडाउछु भन्ने प्रण गरेको थिए’, निर्देशक चाम्सले भने ।

‘हलिउडका ठूला कलाकारझैँ नेपाली कलाकारलाई प्रिमियरमा हिँडाउने तयारीमा छौँ । यो नेपाली चलचित्रकै लागि गौरवको विषय हो किनकि त्यो चलचित्र भवनमा हलिउडका ठूला कम्पनी मार्भल, डिसी, युनिभर्सल, डिज्नीको चलचित्र प्रिमियर हुन्छन्’, निर्देशक चाम्सले भने ।

प्रिमियरमार्फत नेपाली फिल्मको चर्चाले अन्य नेपाली फिल्मलाई पनि फाइदा पुग्ने उनको विश्वास छ । ‘अब हामीले मेरो वा तेरोभन्दा पनि हाम्रो भनेर अगाडि बढ्न सक्नुपर्छ । अनि मात्र अन्तर्राष्ट्रियबजारमा हामीले सफलता पाउनेछौँ’, उनले भने ।

निर्देशक चाम्सले लण्डनको लिसेस्ट स्क्वायरस्थित आइम्याक्स हलमा हुने प्रिमियरमा बेलायती राजपरिवारका सदस्य, सांसद, स्थानीय निकायका प्रमुख, बेलायती सेनाका जनरल, गोर्खा रेजिमेन्ट अधिकृत, नेपाली दूतावास, सेलिब्रिटीलगायतलाई निम्तो दिइएको जानकारीसमेत दिए ।

युद्ध विधामा बनेको ‘गोर्खा वारियर’मा सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथामा देखाईएको छ ।  फिल्ममा निर्देशक चाम्स र गिरिराज घिमिरेको लेखन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डिओपी, हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ ।

नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा प्रदर्शन गर्ने तयारी रहेको चलचित्रमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका कलाकारले गरेका छन् । लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको फिल्मको निर्मातामा सुमन राई र सुस्मिता वाइवा छन् । यस्तै कार्याकारी निर्मातामा प्रशान्त थापा र सह–निर्मातामा रुपमा सुरेश राई छन् ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com