२०८१ बैशाख ३१ - Mon May, 2024 -

Biz Suchana

२०८१ बैशाख ३१
Mon May, 2024

गठबन्धन सरकारमाथि अकारण हमला भइरहेको छ : वर्षमान पुन

काठमाण्डौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले राम्रो काम गर्दा सरकारमाथि घेराबन्दी भएको बताएका छन् । पार्टी सम्वद्ध पेशागत जिल्ला समिति बैठकलाई सोमबार सम्बोधन गर्दै पुनले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारमाथि अकारण हमला भइरहेको बताए ।

यद्यपि सरकार जनताको साथ लिएर सबैखाले घेराबन्दी तोड्दै लक्ष्यमा अघि बढ्ने उनको भनाइ थियो । ‘राम्रो काम गर्दा हाम्रो अध्यक्षले नेतृत्व गर्नुभएको सरकारलाई चौतर्फी घेराबन्दीमा पार्ने प्रयास भएको छ’, पुनले भने, ‘हामी सबै घेराहरु तोडेर मुलुक र जनताको पक्षमा काम गर्छौं ।’ उनले सरकारले पछिल्लो समय असल नियतका साथ अघि बढाएका लोकप्रिय काम नरोक्ने पनि उल्लेख गरे । वर्तमान सरकारले गठन भएदेखि नै भ्रष्टाचार अन्त्यको अभियान थालेको पुनले बताए ।

नक्कली भुटानी शरणार्थी प्रकरण र नक्कली मोही खडा गरेर बालुवाटारस्थित ललिता निवासको सरकारी जमिन हडप्ने गिरोहमा संलग्नहरुमाथि छानबिन अघि बढेपछि सरकारविरुद्ध घेराबन्दी र आक्रमण तीव्र पारिएको उनले चर्चा गरे । सरकारको राम्रो कामको समर्थन गर्नुको साटो प्रतिपक्षी दल र कतिय अवस्थामा सत्ता सहयात्री दलबाटै घेराबन्दी र अप्ठेरोमा पार्ने प्रयास भएको उनको भनाइ थियो ।

राजनीति, प्रशासन र सुरक्षा संयन्त्रका राम्रा मानिसहरुमाथि एकैसाथ सुनियोजित आक्रमण भइरहेको भन्दै पुनले मुलुकमा कोही पनि राम्रा छैनन् र केही पनि राम्रो भएको छैन भन्ने भाष्य स्थापित गर्ने प्रयास भएको औंल्याए । आफ्नो पार्टीले विगतदेखि नै भ्रष्टाचार शून्य सामाज, उत्पादन मैत्री, विकास मैत्री संरचना र सामाजिक न्यायको पक्षमा भूमिका खेल्दै आएको दाबी गर्दै उनले सरकारमा हुँदा वा नहुँदा उक्त भूमिकाबाट बिमुख नहुने उल्लेख गरे ।

पुनले केन्द्रीय समितिको निर्णयअनुसार सुरु ‘घरघरभा माओवादी, जनजनमा माओवादी’, अभियानका क्रममा काठमाण्डौं उपत्यकामा रक्तदान, वृक्षरोपण तथा सफाई अभियान सञ्चालन गरिने बताए । यस्तै राणा शासनविरोधी आन्दोलन, पञ्चायतविरोधी आन्दोलन, बहुदलीय व्यवस्था स्थापनाका लागि भएको २०४६ को जनआन्दोलन तथा माओवादी जनयुद्धका शहीद परिवार, घाइते तथा ती आन्दोलनमा योगदान गर्ने योद्धाहरुलाई सम्मान र राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पुर्‍याएका विशिष्ट व्यक्तिहरुलाई अभिनन्दन गरिने जानकारी दिए ।

पुन माओवादीको उपत्यका विशेष प्रदेश समितिका इन्चार्जसमेत हुन् । गाउँ र शहर, सम्पन्न र विपन्न, हुने र नहुनेबीचका विभेद अन्त्य गरी सबै बराबरी हुने व्यवस्था नै समाजवाद भएको टिप्पणी गरे ।

फरक प्रसंगमा उनले कृत्रिम बौद्धिकता विश्व मानव समुदायका लागि नयाँ चुनौती र अवसरका रुपमा आएकाले संसारभर रानजीतिक र आर्थिक प्रणालीमा ठूलो फेरदलको सम्भावना रहेको औंल्याए ।

कृत्रिम बौद्धिकताका कारण संयुक्त राज्य अमेरिकामा मात्र आगामी सन् २०३० सम्ममा १ करोड ३७ लाख मानिसले प्रत्यक्ष रोगजारीबाट हात धुनुपर्ने एक अध्ययनले देखाएको बताए । प्रविधिको यस प्रकारको अभूतपूर्व विकासको प्रभावबाट नेपालसहित तेश्रो विश्वका मुलुकहरु पनि मुक्त हुन नसक्ने पुनको भनाइ थियो ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com