२०८१ बैशाख ३० - Sun May, 2024 -

Biz Suchana

२०८१ बैशाख ३०
Sun May, 2024

घोराही सिमेन्टको आइपीओ पुनः बिक्री खुला

काठमाडौं, २३ असार । घोराही सिमेन्टले प्राथमिक सेयर (आइपीओ) पुनः बिक्री खुला गरेको छ ।कम्पनीले शुक्रबारदेखि आइपीओ पुनः बिक्री खुला गरेको हो । यस आइपीओमा असार २४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा सबै आइपीओ बिक्री नभए असार ३१ गतेसम्म आइपीओ बिक्री खुला हुने कम्पनीले जनाएको छ ।

कम्पनीले यसअघि आइपीओमा आवेदन दिएका लगानीकर्ताहरुले सेयर कित्ता थपघट वा आवेदन रद्द गर्नसक्ने गरि आइपीओ बिक्री खुला गरेको जनाएको छ । यस कम्पनीले जेठ ३२ गतेदेखि सर्वसाधारणको लागि आइपीओ जारी गरेको थियो । कम्पनीले आइपीओ जारी गरेको ५औं दिनमा धितोपत्र बोर्डले असार ४ गते आइपीओ निष्कासन प्रक्रिया स्थगित गरेको थियो ।

कम्पनीको रेटिङ्स र सार्वजनिक निष्कासन सम्बन्धी कैफियतको जाँचबुझका लागि घोराही सिमेन्टको आइपीओ निष्कासनको सम्पूर्ण प्रक्रिया स्थगन गरिएको बोर्डले जानकारी गराएको थियो । तथापि, धितोपत्र बोर्डले अध्ययन गरेर घोराही सिमेन्टको आइपीओमा फर्जी आवेदन दिने आवेदनकर्तासँग आइपीओ जारी गर्ने कम्पनी, निष्कासनकर्ता तथा बिक्री प्रबन्धकको सञ्चालक र कर्मचारीसँग कुनै सम्बन्ध नरहेको निष्कर्ष निकालेको थियो ।

घोराही सिमेन्टको आइपीओ प्रक्रिया स्थगित हुँदासम्म सर्वसाधारण लगानीकर्ताको करिब ४ अर्ब रुपैयाँ ब्लक भएको थियो । सीडीएसीको तथ्यांक अनुसार आइपीओ स्थगित भएको दिन असार ४ गते सम्ममा ५ लाख ६२ हजार १८२ जना लगानीकर्ताले २ करोड २६ लाख १८ हजार ७७० कित्ताका लागि आवेदन दिएका थिए ।

कम्पनीले प्रिमियम मूल्यसहित प्रतिकित्ता ४ सय ३५ रुपैयाँ आइपीओ जारी गरेको हो ।जसअनुसार यस आइपीओमा करिब १० अर्ब (९ अर्ब ८३ करोड ९१ लाख ६४ हजार रुपैयाँ) बराबरको आवेदन परेको छ । जसमध्ये १ करोड ३६ लाख १५ हजार ५ सयभन्दा बढी कित्ता अर्थात् ५ अर्ब ९२ करोड २७ लाख ७२ हजार रुपैयाँभन्दा बढीको फर्जी आवेदन परेको सीडीएसको भनाई छ ।

यसरी कुल परेको आवेदनबाट फर्जी घटाउँदा पनि करिब ३ अर्ब ९१ करोड ६३ लाख रुपैयाँभन्दा बढी सर्वसाधारणको पैसा ब्लक भएको देखिन्छ । तथापि, उक्त रकममा केही तलमाथि हुन सक्ने सीडीएसले जनाएको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com