लोप हुँदै जान थालेको रैथाने बालीको संरक्षण गर्न सामुदायिक बीउ बैंक

काठमाडौ, २० जेठ । नवलपुरको कावासोतीमा रहेको सामुदायिक बीउ बैंकले रैथाने बालीको संरक्षण गर्दै आएको छ । रैथाने बाली क्रमशः लोप हुँदै जान थालेको अवस्थामा सामुदायिक बीउ बैंकले यसको संरक्षण गर्दै आएको हो ।
कावासोती–१४, त्रिभुवनटारमा रहेको बीउ बैंकमा हाल धानका मात्रै विभिन्न ४५ प्रजाति रहेको बीउ बैंकका अध्यक्ष पार्वती भण्डारीले बताए । “धेरैजसो हाम्रै पुर्खाले लगाउने गरेको धान अहिले हराउँदै जान थालेका छन्, त्यस्ता प्रजाति लोप नहोस् भनेर बीउ उत्पादन गर्दै आएका छौँ”, उनले भने ।
कनक जिरा, बकुल्ले अनदी, मगर अनदी, थापा चिनी, आम ज्योति, पहेले धान, घिउपुरी, झिनुवा, आँप झोते, चमेली, मिठाइ, छ्याङा, कालो नुनिया, बासमती, दूधराज, वार, सावित्री लगायतका धानको बीउ बैंकमा संरक्षण गरिएको अध्यक्ष भण्डारीले बताए ।
अन्नबालीसँगै लहरेबाली, कोसेबाली, तेलहन, दलहन बालीका विभिन्न प्रजातिका बीउ संरक्षण गरिएको र सिजनअनुसार किसानलाई बिक्री वितरण गर्ने गरिएको उनले बताएका छन् । सामुदायिक बीउ बैंकमा ९५३ घरपरिवार आबद्ध छन् । उनीहरूले बीउ बैंकमा रहेका रैथाने प्रजातिका बीउ लिएर खेती गर्ने गरेका छन् । साथै स्थानीय प्रजातिको बीउ उत्पादनमा समेत सहयोग गर्दै आएका छन् ।
रैथाने बालीको खेती गर्दा धेरै विषादी प्रयोग गर्न नपर्ने, उत्पादन कम भए पनि मूल्य धेरै पाइने, यस्ता प्रजातिबाट पोषण धेरै प्राप्त हुने र प्रतिकूल वातावरणसमेत सहन सक्ने हुनाले अहिले क्रमशः किसान रैथाने प्रजातिका बालीतर्फ आकर्षण बढ्दो क्रममा रहेको बीउ बैंकका सचिव दानबहादुर महतोले बताएका छन् ।
लीबर्डको सहयोगमा बीउ बैंक स्थापना गरिएकोमा हाल स्थानीय, प्रदेश र सङ्घीय सरकारबाट समेत रैथाने बालीको संरक्षणमा सहयोग प्राप्त हुने गरेको बताए । सामुदायिक बीउ बैंकले जग्गा भाडामा लिएर आफैँ बीउको उत्पादन गर्दै आएको छ । धानको बीउ आफै उत्पादन गर्ने गरिएको भए पनि अन्य रैथाने प्रजातिका स्थानीय तरकारी, दलहन बालीको बीउ भने स्थानीय कृषकले उत्पादन गर्दै आएका छन् ।