२०८१ बैशाख ३१ - Mon May, 2024 -

Biz Suchana

२०८१ बैशाख ३१
Mon May, 2024

लयमा फर्कियो नेपालको पर्यटन व्यवसाय, एक महिनामै १ लाख बढी पर्यटक भित्रिए

काठमाडौं। नेपालको पर्यटन व्यवसाय लयमा फर्किएको छ। सन् २०२३ को अक्टोबरमा मात्रै १ लाख १७ हजार ३०६ जना पर्यटक नेपाल भित्रिएको अध्यागमन विभागको तथ्यांक उद्दृत गर्दै नेपाल पर्यटन बोर्डले जनाएको छ । यो एक महिनामा नेपाल भित्रिएका पर्यटकको इतिहासमै कीर्तिमानी संख्या हो ।यो संख्या कोरोना महामारी सुरु हुनुअघि सन् २०१९ को तुलनामा ६ प्रतिशतले धेरै हो।

नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार अक्टोबर २०१९ मा आएको १ लाख १३ हजार संख्या एक महिनामा आएका पर्यटकको सबैभन्दा ठूलो संख्या थियो । यो रेकर्ड यस वर्ष तोडिएको हो । अक्टोबर महिनामा गैरआवासीय नेपालीको जमघट नेपालमा हुन्छ । उनीहरु समेत नेपाल आउँदा पर्यटकका रुपमा गणना हुन्छ । यो सम्मेलनको प्रभाव समेत यस महिनामा परेको देखिन्छ ।

व्यवसायीहरुका अनुसार भारत, बंगलादेश, चीन, श्रीलंकासहितका मुलुकबाट आउने सबैजसो पर्यटक नै भएपनि अमेरिका र युरोपबाट आएकाहरुमा गैरआवासीय नेपालीको समेत संख्या उल्लेख्य रहने गर्छ ।

नेपाल पर्यटन बोर्डका अनुसार अक्टोबर २०२२ मा ५२ हजार १२१, २०२१ मा १५ हजार ७१५ र सन् २०२० मा १ हजार ८३१ जना पर्यटक नेपाल आएका थिए । यस महिनामा सबैभन्दा धेरै भारतबाट १८ हजार ४८० जना पर्यटक नेपाल आएका छन् । दोस्रो स्थानमा अमेरिकी छन् । अमेरिकाबाट १४ हजार ८७९ जना पर्यटक नेपाल आएको तथ्यांक छ । तेस्रो स्थानमा बेलायती छन् । यस मुलुकबाट ८ हजार २१७ जना पर्यटक नेपाल आएका छन् । चीनबाड ६ हजार ८८०, अष्ट्रेलियाबाट ६ हजार ७५, जर्मनीबाट ५ हजार ९१६, फ्रान्सबाट ५ हजार २७१, बंगलादेशबाट ४ हजार २९२, श्रीलंकाबाट २ हजार ५०७ र इटालीबाट २ हजार ४६७ जना पर्यटक नेपाल आएका छन् ।

सन् २०२३ को १० महिनाको अवधिमा ८ लाख पर्यटक नेपाल भित्रिएका छन् ।नेपाल पर्यटन बोर्डका अनुसार जनवरीदेखि अक्टोबरको बीचमा ८ लाख ९ हजार ६७८ जना पर्यटक नेपाल आएका छन् ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com