गाली वा विरोध गरेर मात्रै पार्टी बलियो हुँदैन : शेरबहादुर देउवा

काठमाडौं, २० जेठ । सभापतिलाई गाली गरेरमात्र पार्टी बलियो नहुने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् । आज ललितपुरमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरको प्रथम जिल्ला सम्मेलन उद्घाटन गर्दै सभापति देउवाले गाली वा विरोध गरेर मात्रै पार्टी बलियो नहुने बताउँदै पार्टी बनाउन जनतामाझ जानुपर्ने उल्लेख गरेका छन् ।
सभापति देउवाले आफ्नो नेतृत्वमा कांग्रेसलाई पहिलो पार्टी बनाएको र भोलिको दिनमा पनि पार्टी बलियो बनाउन भूमिका निर्वाह गर्ने प्रस्ट पारेका छन् । सभापति देउवाले आगामी दिनमा आफू पार्टीको सभापति नबन्ने बताएका छन् ।
उनले भने, बिरोध गरेर पार्टी बन्नेवाला छैन, पार्टी बनाउनलाई जनताको काँधमा काँध र जनसम्पर्क नै हो । जनतामा जानुपर्छ । जनतामा जाने हो । गाली गरेर कहाँ पार्टी बन्छ । लडाई गर्ने हो ? अप्ठ्यारोमा गयो भने के गर्ने । अहिले पार्टीलाई मजबुत बनाउने हो, मैले पार्टी ठुलो बनाइहालेँ । अब त मैले सहयोग गर्ने हो, पार्टी सभापति हुने होइन । एक जनालाई गाली गरेर पार्टी बलियो हुँदैन । सबै एक भएर गए पार्टी बलियो हुन्छ ।’
‘नेपाली काँग्रेस नेपालको राजनीतिमा सबैभन्दा ठूूलो पार्टी भएको छ । सत्य कुरा हो । अहिले सबै ठाउँमा नेविसंघले जितेको छ । यो पनि सत्य कुरा हो । सधैँ हारेको नेविसंघ जितेको छ, सानो पार्टी ठुलो पार्टी भएको छ । अब यसलाई अघि बढाउनुछ । अझ यसलाई बलियो बनाउनुछ । गाली गरेर केही हुनेवाला छैन । काम गर्नुस् न पार्टी ठुलो बनाउनुस्, बलियो बनाउनुस् ।