दोधारा–चाँदनी सुक्खा बन्दरगाह तीन वर्षमा निर्माण हुन्छ : रमेश लेखक

काठमाडौ, १९ जेठ । नेपाल–भारत प्रधानमन्त्रीस्तरमा दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माणको सम्झौता (एमओयु) मा हस्ताक्षर भएसँगै अबको तीन वर्षभित्र निर्माण सम्पन्न हुनेमा आशावादी हुन नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आग्रह गरेका छन् ।
प्रमुख सचेतक लेखकले कञ्चनपुर उद्योग वाणिज्य सङ्घको ३२औँ वार्षिकोत्सव तथा साधारणसभाको बिहीबार महेन्द्रनगरमा उद्घाटन गर्दै अब तीन वर्षमा बन्दरगाह बनेर भारतसित जोडिने बताएका छन् ।
“भारतबाट सामान ल्याउने मात्रै नभई यहाँबाट पठाउने विषयमा पनि तपाईँहरू सोच्नुहोस्”, उनले भने, “भारत भ्रमणका क्रममा प्रधानमन्त्रीज्यूसित भएका सम्झौता कार्यान्वयन हुनेछन् ।” प्रमुख सचेतक लेखकले सुदूरपश्चिमको डडेल्धुरास्थित शिर्ष र बैतडीको झुलाघाटमा महाकाली नदीमा पक्की पुल बनाउने घोषणा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट हुनु सुखद् विषय भएको बताएका छन् ।
“सुक्खा बन्दरगाह तीन वर्षमा सम्पन्न गर्न सबैको जोड हुनुपर्छ”, उनले भने, “निर्णय कार्यान्वयका लागि पूर्णरूपले लाग्ने प्रतिबद्धता व्यक्त गर्दछु ।” प्रमुख सचेतक लेखकले त्रिदेशीय नाकाका रूपमा कञ्चनपुर नाकालाई विकास गर्न खोजिएको उल्लेख गर्दै महाकाली करिडोरमार्फत चीनसित जोड्ने काम पनि अघि बढिरहेको बताएका छन् ।