२०८१ बैशाख ३ - Mon Apr, 2024 -

Biz Suchana

२०८१ बैशाख ३
Mon Apr, 2024

मध्यपहाडीको मापदण्डमा बनेन जयरामघाट–हलेसी सडक, दर्शनार्थी मारमा

काठमाडौ, १९ जेठ । पुष्पलाल (मध्यपहाडी) राजमार्ग अन्तरगत खोटाङको जयरामघाट–हलेसी (३५ किलोमिटर) सडक खण्डलाई मध्यपहाडीको मापदण्डअनुसार फराकिलो बनाइएको छैन । मध्यपहाडी राजमार्गको ‘एलाइनमेन्ट’मा पर्ने भए पनि जयरामघाट–हलेसी सडकलाई मध्यपहाडीको मापदण्डअनुसार चौडा गर्न ढिलाइ गरिएको हो ।

मध्यपहाडीको अन्य खण्डको चौंडाई कम्तीमा नौ मिटर छ तर जयरामघाट–हलेसी सडक खण्डको चौंडाई साँढे चारदेखि पाँच मिटर मात्र छ । मध्यपहाडी लोकमार्ग आयोजनाभन्दा अघि नै बनेको हिलेपानीदेखि जयराम–हलेसी खण्डलाई मध्यपहाडीको मापदण्ड अनुसार स्तरोन्नति गर्न हालसम्म राज्यको ध्यान जान सकेको छैन ।

जयराम–हलेसी सडकमा २०६५ देखि २०६७ सालबीचमा ओटासिल पिच गरिएको थियो । आर्थिक वर्ष २०६९–०७० देखि मध्यपहाडी राजमार्ग आयोजनाको काम सुरु गर्दा जयराम–हलेसी सडकलाई छाडेर अन्य खण्डमा मात्र स्तरोन्नतीको काम गरिएको थियो । सोही कारण हालसम्म जयराम–हलेसी सडक मध्यपहाडीको मापदण्ड अनुसार बन्न नसकेको हो ।

जिल्लासभाको निर्णय अनुसार जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले बैसाख ३ गते भौतिक पुर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाश ज्वालालाई लिखितरुपमा मध्यपहाडी राजमार्ग घोषणा हुनुभन्दा अगाडिको जयरामघाट–हलेसी सडकलाई मध्यपहाडीको मापदण्ड अनुसार चौडा गर्नका लागि ध्यानकर्षण गराएका थिए ।

हलेसी तुवाचुङ नगरपालिकाभित्र पर्ने जयराम–हलेसी सडक राजधानी लगायतका शहर जाने र आउने प्रमुख एक मात्र मार्ग हो । मध्यपहाडीको मापदण्ड अनुसार बनाउन छुटाइएको सो सडकमा दैनिक हलेसी र दिक्तेल आउनेजाने सवारी साधनको बाक्लो ओहोर–दोहोर हुनेगरेको छ । सडक साँघुरो र जिर्ण हुँदा सबैभन्दा धेरै हलेसी आएर फर्कने दर्शनार्थी मारमा परेका छन् । भक्तजनले हलेसी आउनेजाने क्रममा जोखिम मोलेर साँघुरो सडक पार गर्नुपरेको भन्दै गुनासो पोख्ने गरेको हलेसीस्थित होटल तुवाचुङका सञ्चालक राजेश राई बताउँछन् ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com