माई खोला हाइड्रोपावरको आईपीओ खुल्ला

माई खोला हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला गरेको आइपिओ आज (बिहिबार) देखि खुल्ला गरेको छ।
कम्पनीले जारी पुँजी रु ३९ करोड २१ लाख ५६ हजार आठ सयको १० प्रतिशत अर्थात् रु तीन करोड ९२ लाख १५ हजार सात सय बराबरका रु एक सय दरका तीन लाख ९२ हजार एक सय ५७ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र इलामका बासिन्दाका लागि निष्कासन गर्न लागेको हो।
त्यस्तै एक लाख ५२ हजार नौ ४१ कित्ता शेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई जारी गर्ने भएको छ। प्रभु क्यापिटलले बिक्री प्रबन्धकको काम गर्ने सो आईपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार र वैदेशिक रोजगारमा रहेका नेपालीले अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन बन्द छिटोमा आगामी चैत ९ गते हुनेछ भने ढिलोमा चैत २४ मा हुने र वैदेशिक रोजगारीमा रहेका नेपालीले भने चैत ९ गतेभित्र आवेदन दिनुपर्ने छ।
स्थानीय बासिन्दाले हाइड्रोपावरको कार्यालय, प्रभु बैंक, सेञ्चुरी बैंक, प्राइम कमर्सियल बैंकका तोकिएका शाखा कार्यालयका साथै प्रभु क्यापिटलले तयार पारेको अनलाइन व्यवस्थाबाट आवेदन दिन सक्नेछन भने वैदेशिक रोजगारीमा रहेका नेपालीले आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय र अनलाइनमार्फत ‘मेरो शेयर’ प्रणाली प्रयोग गरेर आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।
कम्पनीले इलाममा तीन मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरी विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जडान भई बिक्रीसमेत गरिरहेको छ।