२०८१ बैशाख २ - Sun Apr, 2024 -

Biz Suchana

२०८१ बैशाख २
Sun Apr, 2024

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चार करोड बराबरको राजस्व सङ्कलन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यायलले चालु आर्थिक वर्षको हालसम्म मोबाइल, मदिरा, सवारीसाधन, कपडा, खाद्य पदार्थ तथा इलेक्ट्रोनिक सामान लिलाम बिक्रीबाट रु चार करोड बराबरको सामान लिलाम बिक्री गरेको छ। कार्यालयले सामान लिलाम बिक्रीबाट रु तीन करोड ८९ लाख ८१ हजार पाँच सय ५७ राजस्व सङ्कलन गरेको हो।

विदेशबाट फर्किने यात्रुसँग जफत गरिएको मोबाइलबाट तीन सय ३२ थान मोबाइल लिलाम बिक्रीबाट रु एक करोड ७३ लाख २६ हजार सात सय चार र दुई हजार पाँच सय पाँच थान मदिरा लिलाम बिक्रीबाट रु एक करोड पाँच लाख ८६ हजार छ सय ९७ बराबर राजस्व संकलन गरेको भन्सार कार्यालयले जनाएको छ।

विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत नारद पोखरेलका अनुसार सवारीसाधन, कपडा, खाद्य पदार्थ, इलेक्ट्रोनिकलगायतका मालवस्तु लिलाम बिक्रीबाट रु एक करोड १० लाख ६८ हजार एक सय ५६ सङ्कलन गरेको छ। उनले भने, “कानूनअनुसार हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै एक व्यक्तिले एउटाभन्दा बढी थान मोबाइल तथा एक बोतलभन्दा बढी मदिरा ल्याउन पाइँदैन। “

कानूनले तोकेभन्दा बढी सङ्ख्यामा ल्याइएका सामग्री भए आर्थिक ऐनबमोजिम भन्सार महसुल तिर्नुपर्ने हुन्छ। कार्यालयले स्वदेशी तथा विदेशीबाट जफत गरिएको एप्पल कम्पनीका आइफोन, सामसुङलगायत महँगा मोबाइल फोन तथा मदिरा बिक्री गर्दै आएको छ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com