मध्यमर्स्याङ्दी जलविद्युत केन्द्र ६ चैतसम्मका लागि विद्युत उत्पादन बन्द

लमजुङस्थित मध्यमर्स्याङ्दी जलविद्युत केन्द्रको नियमित मर्मतका लागि भोलि(मंगलबार) देखि ६ चैतसम्मका लागि विद्युत उत्पादन बन्द रहने भएको छ। आयोजनाको बाँध क्षेत्रअन्तर्गत बाँयातर्फको सिभिल संरचना मर्मत गर्नुपर्ने भएकाले विद्युत उत्पादन बन्द गरिएको हो।
मध्यमर्स्याङ्दी जलविद्युत केन्द्रका प्रमुख पवन बस्नेतका अनुसार दुई वर्षअघि मर्स्याङ्दी नदिमा आएको बाढीले क्षति पुर्याएको संरचना गत वर्षनै मर्मत गर्नुपर्ने भए पनि तत्कालीन समयमा देशभर विद्युत अभावका कारण उत्पादन बन्द गर्न नसकिएको हो। संरचना मर्मतका लागि दुई महिनाभन्दा बढी समय लाग्ने भए पनि अहिले पनि राष्ट्रव्यापी विद्युत अभावका कारण तीन हप्तामा काम सक्ने गरी तयारी गरिएको उनले बताए।
संरचना मर्मतका लागि ११ करोड ३३ लाखमा सम्झौता भएको छ । जलविद्युत केन्द्रको सिभिल संरचना मर्मतका लागि १६ चैतदेखि ६ गतेसम्म २१ दिन विद्युत सटडाउन हुने र सो अवधिभर ड्यामका सबै ढोका खुल्ला गरिने हुँदा नदी आसपास नजान केन्द्रले अनुरोध पनि गरेको छ ।