सर्वसाधारणका लागि सिटी होटलको आईपीओ

सिटी होटलले दुइचरण गरि वैदेशिक रोजगारीमा रहेका नेपाली र सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । वैदेशिक रोजगारीमा रहेकाका लागि चैत २१ गतेदेखि र सर्वसाधारणका लागि भने आउँदो वैशाख २५ गतेदेखि आईपीओ बिक्री खुला हुने भएको हो।
होटेलले जारी पुँजीको १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशतले हुन आउने १६ करोड ७४ लाख रुपैयाँबराबरको आईपीओ जारी गर्न लागेको हो । जसअनुसार १०० रुपैयाँ अंकित दरका कुल १६ लाख ७४ कित्ता आईपीओ बिक्री गरिनेछ।
कुल कित्तामध्ये १० प्रतिशतले हुन आउने १ लाख ६७ हजार ४०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरिनेछ। यसैगरी जारी पुँजीको ४ प्रतिशतले हुन आउने ६६ हजार ९६० कित्ता कर्मचारी र ५ प्रतिशतले हुन आउने ८३ हजार ७०० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। बाँकी १३ लाख ५५ हजार ९४० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।
होटलले बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ। वैदेशिक रोजगारमा रहेका नेपाली र सर्वसाधारण दुवैले यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सक्नेछन् ।
यस आईपीओमा वैदेशिक रोजगारीमा रहेका श्रमिकले वैशाख ५ गतेसम्म आवेदन दिन पाउनेछन्। सर्वसाधारणका जारी हुने आईपीओ वैशाख २८ गतेसम्म आवेदन दिन पाउने छन्। तोकिएको समयसम्म आवश्यक मात्रामा आवेदन नपरेको खण्डमा ढिलोमा जेठ ८ गतेसम्म आवेदन दिन पाउने कम्पनीले जनाएको छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत खरिद आवेदन दिन सक्नेछन्। रेटिङ एजेन्सी केयर नेपालले सिटी होटलको आइपीओलाई ‘केयरएनपी डबल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ। जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ।