२०८० चैत्र ३० - Fri Apr, 2024 -

Biz Suchana

२०८० चैत्र ३०
Fri Apr, 2024

चोभार सुक्खा बन्दरगाहको आन्तरिक टर्मिनल सञ्चालनमा आउने

काठमाडौँको चोभार सुक्खा बन्दरगाहमा रहेको आन्तरिक टर्मिनल केही दिनभित्रमा सञ्चालन हुने भएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिअन्तर्गत सुक्खा बन्दरगाहभित्र रहेको एउटा टर्मिनल गएको वर्षको चैत २२ गतेदेखि नै सञ्चालनमा आएको भए पनि आन्तरिक टर्मिनल सञ्चालनमा आएको थिएन ।

समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार आन्तरिक टर्मिनल सञ्चालनका लागि तयारी अवस्थामा रहेकाले सम्बन्धित सरोकारवाला निकायमा पत्राचार गरी एक–दुई दिनभित्रै टर्मिनल सञ्चालन सुरु हुने भएको छ।

व्यापार सहजीकरणका लागि निर्माण भएको उक्त सुक्खा बन्दरगाहमा रहेको आन्तरिक टर्मिनलमा एक सय ५० ट्रक पार्किङ क्षमता, गोदाम घर, नापतौल, लोड–अनलोड सेड, चालक तथा कामदारका लागि शौचालय आदिको व्यवस्था रहेको छ । टर्मिनल प्रयोगका लागि प्रवेश शुल्क निःशुल्क गर्नुको साथै सकेसम्म न्यूनतम शुल्कमा गाडीको पार्किङ, मालसामानको लोडिङ र अनलोडिङलगायत सुविधा उपलब्ध हुने भएकाले टर्मिनल सञ्चालनमा आएपछि अहिले उपत्यकामा भइरहेको अव्यवस्थित मालवाहक सवारी पार्किङबाट हुने दुर्घटनालगायत जोखिम कम हुने समितिका कार्यकारी निर्देशक गजुरेलले बताए ।

विश्व बैंकको ऋण सहयोगमा निर्माण भएको उक्त चोभार सुक्खा बन्दरगाहको कूल लागत रु एक अर्ब ५४ करोड छ । करिब दुई सय ६० रोपनी क्षेत्रफलमा फैलिएको बन्दरगाहमा भन्सार, क्वारेन्टिन, बैंकलगायत निकायको उपस्थिति रहेको छ ।

बन्दरगाहमा लोड–अनलोड भवन तीन, गोदाम घर तीन, प्रशासनिक भवन तीन, एप्राइजल सेड तीन, धर्मकाँटा तीन, कन्टेनर यार्ड, विद्युत् सबस्टेसन, बाउन्ड्री लाइट, अन्य सवारी पार्किङलगायतका संरचना रहेका छन् । बन्दरगाहको कन्टेनर र्याडमा पाँच सय कन्टेनर र पाँच सय ट्रक राख्न मिल्ने ६५ हजार वर्गमिटर पार्किङ क्षेत्र रहेको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com