कृतिम ऋणी खडा गरेको आरोपमा सुपर लघुवित्तका सञ्चालक निलम्बित

नेपाल राष्ट्र बैंकले दाङको तुलसीपुरमा रहेको सुपर लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिलाई निलम्बन गरेको छ। राष्ट्र बैंकले सञ्चालक समितिलाई निलम्बन गरी उक्त संस्थाको व्यवस्थापन आफ्नो नियन्त्रणमा लिएको छ।
उक्त लघुवित्त सञ्चालनका लागि राष्ट्र बैंकबाट व्यवस्थापन समूह खटाइएको छ । बैंकले नियुक्त गरेको व्यवस्थापन समूहले सोमबाटबाट उक्त लघुवित्तको व्यवस्थापकीय काम सम्हाल्ने छ । बैंकले आइतबार एक सूचना जारी गर्दै उक्त लघुवित्तका सञ्चालकहरूले नक्कली ऋणी खडा गरेको तथा अरु वित्तीय अपराधसमेत गरेको देखिएकाले सञ्चालकहरूलाई निलम्बन गरिएको जनाएको छ ।
उक्त संस्थालाई यथास्थितिमा राख्दा बचतकर्ता, सापटी दिने संस्था तथा लगानीकर्तासमेत समस्यामा पर्ने देखिएपछि राष्ट्र बैंक ऐनअनुसार कारबाही थालिएको पनि राष्ट्र बैंकले जनाएको छ। “लामो सयमदेखि कृत्रिम ऋणी खडा गर्दै ऋण प्रवाह गर्ने गरेकोलगायत गम्भीर प्रकृतिका अपराधजन्य कार्य गरेको पाइएकाले संस्थाका जिम्मेवार पदाधिकारीबाट भए गरेका काम बैंक तथा वित्तीय संस्था ऐन २०५८ को प्रावधानविपरीत छ, ” सूचनामा उल्लेख छ।
साथै २०७९ असोजमा संस्थाको प्राथमिक पुँजीकोष ३४ दशमलव ३० प्रतिशत र पुँजीकोष ३२ दशमलव ६५ प्रतिशतले ऋणात्मक रहेको देखिएको पनि बैंकले जनाएको छ ।