पेट्रोलियम पाइपलाइन : दोस्रो चरणको काम तीव्र

नेपाल–भारत पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम तिब्र रुपमा अघि बढेको छ। नेपाल आयल निगम अन्तर्गत बाराको अमलेखगञ्जस्थित डिपोमा पेट्रोल ट्याङ्क, ट्रान्समिक्स ट्याङ्कलगायत संरचना निर्माण शुरु भएको छ।
उक्त योजनाअन्तर्गत चार हजार एक सय किलोलिटर क्षमताका दुई पेट्रोल ट्याङ्क, २५० किलोलिटर क्षमताका दुई ट्रान्समिक्स ट्याङ्क, पेट्रोल ढुवानीका लागि २४ पूर्ण स्वचालित लोडिङ वे (रिफिलर), पम्प हाउस र प्रयोगशाला निर्माण गरिने अमलेखगञ्जस्थित कार्यालयका प्रमुख प्रदीपकुमार यादवले जानकारी दिए।
उक्त योजनाका लागि नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनले एक/एक ट्याङ्कको संयुक्तरुपमा लगानी गर्ने गरी सम्झौता गरेका छन्। यसबाट प्राविधिक नोक्सानी शून्य हुने, ढुवानी भाडा बचत हुने तथा वातावरणीय प्रदूषण कम गर्न सहयोग पुग्ने र वार्षिक करिब रु १५ करोड बचत हुने अनुमान गरिएको छ।