गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार: कसलाई कुन मन्त्रालय ?

गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । गण्डकीमा यसअघि १२ मन्त्रालय रहेकामा मन्त्रालय सङ्ख्या घटाएर सातमा झारिएको छ । मुख्यमन्त्री खगराज अधिकारीले हिजो तीन मन्त्री थप गरी मन्त्रिपरिषद् विस्तार तथा यसअघि नियुक्त मन्त्रीको कार्यविभाजन गरेका हुन्।
नेकपा (एमाले) का दुई र नेकपा(माओवादी केन्द्र) का एक मन्त्री थपिनुभएको हो । यससँगै गण्डकी प्रदेश सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री अधिकारीले नेकपा (एमाले) बाट रोशनबहादुर गाहा आन्तरिक मामिला तथा कानुनमन्त्री र बेदबहादुर गुरुङलाई कृषि, ऊर्जा र जलस्रोतमन्त्रीमा नियुक्त गर्नुभयो । यसैगरी माओवादीबाट रेशमबहादुर जुग्जालीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।
यसअघि मन्त्री नियुक्त हुनुभएका माओवादीका हरिबहादुर चुमानले भौतिक, पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।
यसैगरी नेकपा(एमाले) का सीताकुमारी सुन्दास आर्थिक मामिला र राष्ट्रिय प्रजातन्त्र पार्टीका पञ्चराम गुरुङ सामाजिक विकास तथा स्वास्थ्यमन्त्री नियुक्त हुनुभएको छ । नवनियुक्त मन्त्रीहरुले हिजो साँझ प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष पद तथा गोपनीयताको शपथ लिनुभयो ।