२०८० मंसिर १२ - Tue Nov, 2023 -

Biz Suchana

२०८० मंसिर १२
Tue Nov, 2023

विश्वको दोस्रो ठूलो क्रिप्टो एक्सचेन्ज कसरी पल्टियो टाट ? फ्राइडले यसरी डुबाइदिए अरबौं रुपैयाँ

अमेरिकामा १० हजार डलरमा बिट्क्वाइन खरिद गरी जापानमा ११ हजार डलरमा बिक्री गरेर अर्बपति बनेका साम बैंकम्यान–फ्राइडले लाखौं ग्राहकहरुको अरबौं डलर रकम डुबाएका छन् । उनले सञ्चालन गरेको विश्वको दोस्रो ठूलो क्रिप्टो एक्सचेन्ज नै टाट पल्टिएपछि ग्राहकहरुको बिचल्ली भएको छ । ग्राहकहरुको रकम मनपरी लगानी गर्दा उनको क्रिप्टो एक्सचेन्ज नै डुबेको हो । सामले सन् २०१७ मा बिट्क्वाइनको मूल्य अमेरिका र जापानमा धेरै भिन्न रहेको पत्ता लगाए ।

त्यो लुपहोलको फाइदा उठाएर उनले अमेरिकामा बिट्क्वाइन किन्ने र जापानमा बेच्ने गरेका थिए । उनले अमेरिकामा १ करोड डलरको बिट्क्वाइन खरिद गरेर जापानमा १ करोड १० लाख डलरमा बेच्ने गरेका थिए । कहिलेकाहीँ दिनमै १० लाख डलर नाफा कमाउने गरेको एक अन्तवार्तामा उनले बताएका छन् । केही वर्ष यस्तै गरेर साम करोडौं डलर कमाउन सफल पनि भए । तर उनी त्यहाँ मात्र रोकिएनन् ।

यसरी ठूलो रकममा कारोबार गर्ने हुँदा उनलाई इन्भेष्टमेन्ट कम्पनीको आवश्यकता थियो । त्यसैले बैंकम्यान–फ्राइडले एलमेडा रिसर्च नामक क्रिप्टो हेज फन्डको स्थापना गरे । फर्मले बिट्क्वाइन लगायत अन्य धेरै क्रिप्टो करेन्सीहरुको ट्रेड गर्ने गरेका थिए । उनले यो कामलाई अझै अगाडि बढाउने र लगानी थप्ने सोच बनाए, जसका लागि लगानीकर्ताहरुको आवश्यकता थियो । लगानीकर्तालाई वार्षिक १५% को रिटर्न दिने सम्झौता गरेर अरबौं डलर संकलन गर्न पनि उनी सफल भए । सामले विभिन्न बैंक तथा डन्भेष्टमेन्ट कम्पनीहरुबाट २ अर्ब डलर फन्ड जम्मा गरेका थिए ।

धेरै भोल्यूममा क्रिप्टो ट्रेड गर्ने भएपछि उनलाई एक क्रिप्टो एक्सचेन्जको पनि आवश्यकता थियो । त्यसैले उनले आफ्नै क्रिप्टो ट्रेडिङ कम्पनी ‘एफटीएक्स’ को स्थापना गरे जसबाट कुनै पनि क्रिप्टो करेन्सी खरिदबिक्री गर्न सकिन्थ्यो । एक्सचेन्ज स्थापना भएको निकै कम समयमा यो लोकप्रिय बन्यो । यसलाई विभिन्न इन्भेष्टमेन्ट कम्पनीहरुबाट फन्डिङ पनि मिल्न थाल्यो र केही वर्षभित्र यो बिलियन डलर कम्पनी बन्यो । केबल २ वर्षमा उक्त कम्पनी ४० अर्ब डलरको बनिसकेको थियो ।

एफटीएक्स पतनको बाटो

एफटीएक्स डेरिभेटिभ ट्रेडमा बढी केन्द्रित रह्यो । जसले ट्रेडहरुलाई रिस्क म्यानेज गर्न सहयोग गर्दथ्यो । पछि सामले आफैं नयाँ क्रिप्टो करेन्सीहरु निर्माण गरे जुन कम्पनीको विनाशको कारण पनि बन्यो । उनले बनाएको एफटीटी क्वाइनले नै एफटीएक्सलाई विनाशतिर लगेको हो । ती टोकनहरुले सुरुवाती दिनमा निकै राम्रो प्रर्दशन गरे । सन् २०२१ मा सामको सम्पति बढेर २२ अर्ब डलरभन्दा माथि पुगेको थियो ।

उनले एफटीएक्सको ट्रेडिङ फर्म एलमेडा रिसर्जबाट एफटीटी टोकन धेरै खरिद गरेका थिए, जुन उनैले निर्माण गरेको टोकन थियो । सामले एक्सचेन्जका ग्राहकहरुको फन्ड एफटीएक्सबाट एलमेडा रिसर्च फर्ममा क्यास फ्लो राख्न प्रयोग गरेका थिए । रिसर्च फर्मले ग्राहकको सबै पैसा एफटीटी टोकनमा लगानी गरेको थियो । सामले त्यो क्वाइन कर्जा लिनका लागि कोल्याट्रल देखाउन निर्माण गरेका थिए ।

उक्त क्रिप्टोको भ्याल्यू बढ्दै गर्दा कुनै समस्या थिएन । तर जब फेडरल रिजर्भले ब्याजदर बढाउने घोषणा गर्यो तब विश्वभरका क्रिप्टो करेन्सीहरुको भाउ पनि घट्न थाल्यो । एफटीएक्सले आफ्ना १० लाख ग्रहकको रकम एभरेजिङमा प्रयोग गर्न थाल्यो तर त्यसले झनै घाटा हुन पुग्यो । जसका कारण एलमेडासँग तरतलाको कमी हुन पुग्यो । लिभरेज पोजिसन लिएको कारण एलमेडलाई मार्जिन कल आउन थाल्यो ।

एलमेडासँग भएको सम्पत्तिको ठूलो हिस्सा एफटीटी टोकनमा रहेको थाहा भएपछि ट्रेडरहरु आत्तिन थाले । एक रिपोर्ट अनुसार एलमेडाले १४ अर्ब ६० करोड डलरको सम्पति एफटीटीमा लगानी गरेको थियो । यस्तो खबर बाहिर आए लगत्तै उक्त क्रिप्टो एक्सचेन्जको प्रतिस्पर्धी बाइनान्सका सीइओले ५० करोड डलरभन्दा धेरैको एफटीटी टोकन बिक्री गर्ने भनेर सार्वजनिक रुपमै घोषणा गरे ।

उनले बिक्री गर्ने भएपछि उक्त क्वाइनको भाउ २२ डलरबाट घटेर ५ डलर भन्दा कमको मूल्यमा आएको थियो । २४ घण्टमा भ्याल्यू २ अर्ब डलरले घट्न पुग्यो । एफटीटी टोकन २ दिनमा ८०% भन्दा धेरैले घट्यो । यता, एलमेडासँग एफटीटीको मात्र टोकन थियो । ग्राहकको फन्डजति सबै रिसर्च फर्ममा प्रयोग गरिएकाले एफटीएक्ससँग ग्राहकहरुलाई दिन रकम पनि थिएन । उनीहरुसँग ९ अर्ब डलरको दायित्व थियो तर सम्पति भने ९० करोड डलर बराबरको थियो ।

यो खबरले विश्व क्रिप्टो बजारमा पहिरो गयो । ३ दिनमा मात्रै १५ ठूला क्रिप्टो करेन्सीहरुको बजार मूल्य १ खर्ब ५२ अर्ब डलरले घट्न पुग्यो । सामले बाइनान्सलाई एफटीएक्स खरिद गर्न अनुरोध गरे पनि बाइनान्सले त्यो प्रस्ताव स्वीकार गरेन । एफटीएक्सको वित्तीय रिपोर्टमा दायित्व रकम धेरै भएकाले उसले त्यस प्रस्तावलाई अस्वीकार गरेको थियो ।

११ नोभेम्बरमा एफटीएक्स टाट पल्टेको घोषणा गरियो । एफटीएक्स कुनै समय अरबौं डलरको कम्पनी थियो अहिले तरलता अभावका कारण टाट पल्टिन पुग्यो । साम अर्बपतिको सूचीमा हुँदा उनले निकै रकम दान गरेका थिए । उनले आफ्नो सबै सम्पति दान दिने घोषणा पनि गरेका थिए । उनीसँग कुनै समय निकै धेरै पैसा थियो । ग्राहकको फन्ड अरबौं डलरको थियो ।

विश्वका निकै स्मार्ट इन्भेष्टरहरुले उनलाई अरबौं डलर रकम फन्डिङमा दिएका थिए । विश्वको दोस्रो ठूलो क्रिप्टो एक्सचेन्जका मालिक रकमलाई सही सदुपयोग नगर्दा नै टाट पल्टिन पुगेका हुन् । उनी आफूमात्र डुबेनन् लाखौं आम सर्वसाधारणको रकम पनि डुबाए ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com